Tuesday, September 28, 2010

बाँकेमा राप्ती नदीको पुल उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

उद्घाटन कार्यक्रमका सभापति महोदय,
माननीय उपप्रधानमन्त्री श्री विजयकुमार गच्छेदार,
माननीय मन्त्रीहरु,
बिभिन्न राजनीतिक दलका नेताहरु,
माननीय सभासदहरु,
सहभागी आदरणीय महानुभावहरु,
वरीपरिबाट कार्यक्रममा सहभागी हुनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !
भर्खरै माननीय उपप्रधानमन्त्रीजीले चर्चा गर्नुभयो, निक्कै लामो समयदेखि यो पूलको उद्घाटन गर्ने सन्दर्भमा हाम्रो बीचमा कुराकानी भइरहेको थियो । साथै, यस क्षेत्रका जनताको न्यानो मायाले म यो पूल उद्घाटन समारोहमा आफैं उपस्थित हुने ईच्छा थियो । यसका पछाडि एउटा कारण छ । २०५५ सालमा यही बाटो भएर बगौडा क्षेत्रका बिभिन्न गाविसहरुमा म जनतामाझ पुगेको थिएँ । गंगापुर, बैजापुर, फत्तेपुर, पथलैया, बिजौरा, लक्ष्मणपुर, मटैया लगायतका ९ गाविसमा बस्ने जनताहरुका बीचमा सम्बोधन गरेको थिएँ । भेटघाट र साक्ष्ाात्कार गरेको थिएँ । म आफैं यो बाटो जाने क्रममा हामी सबैलाई यो नदी कसरी पार गर्ने होला भनेर चिन्तित तुल्याएको थियो । बल्लतल्ल हामीले नदी त पार गर्‍यौं । तर, यो बाटोबाटै फर्किने अबस्था थिएन । अचम्म लागेपछि मैले सोधेँ । बषर्ायाममा नौ गाविस टापु जस्तो बन्न पुग्दो रहेछ । आफ्नै देशको एउटा भूभागमा पुग्नका लागि भारतको सीमना पार गरेर बल्लबल्ल नेपालगञ्ज पुग्न सकिने र नेपालगञ्जबाट भारतहुँदै फर्किनुपर्ने अबस्था रहेछ । यस कुरालाई मैले संसदमा, स्थानीय विकास मन्त्रीहरुका बीचमा, बिभिन्न सन्दर्भमा कुराहरु उठाएको थिएँ । मलाई यो कुरा भन्दा अहिले खुसी लागेको छ । त्यतिखेर नेकपा-एमाले) र नेपाली कांग्रेसलगायतको सरकार भएको बेलामा यस पूलको सिलान्यास २०५८ सालमा भएको रहेछ । त्यसबेला सरकारमा प्रतिनिधित्व गर्ने भरतमोहन अधिकारीले आएर यो पुलको शिलान्यास गर्नुभएको थियो । अहिले हामीले यो पुलको उद्घाटन गरेका छौं र नौ वटै गाविसका जनताको चाहनालाई आज हामीले पूरा गरिसकेका छौं । मलाई बीचमा अलिकति भ्रम भएको थियो । कतै यो पुल माओवादीका पालामा त शिलान्यास भएको त होईन ? भएको भए पनि म खुशी नै हुन्थे । तर, मलाई एकजनाले भन्नुभयो, पुल बनाउने होइन, पुल भत्काउने कुरा मान्दिनुस्, बनाउने काम त यिनीहरुबाट हुनेछैन । हेर्नुहोला यस पटक पनि यो पुल उद्घाटनको पनि पक्कै बिरोध गर्नेछन् । पुल बनाउनै हुँदैन, भत्काइदिन्छौं भन्न पनि बेर छैन । साँच्चै त्यो बानी अझै बदलिइसकेको रहेनछ । नानीदेखि लागेको बानी भएकाले बुद्धी अझै खुलेको पाईएन । भत्काउने भन्दा निर्माण गर्ने चेत कहिल्यै पनि खुलेको देखिदैंन । त्यसकारण म आजका दिनमा मित्रहरुलाई आग्रह गर्न चाहान्छु- जसले सँधैभरी नकरात्मक, निषेधको राजनीतिक गर्दै आउनुभएको छ, सँधैभरी ध्वंसको राजनीति गर्दै आउनुभएको छ, सँधैभरी अशान्ति मच्चाउँदै आउनुभएको छ, उहाँहरुलाई निर्माणको नयाँ राजनीति, सकारात्मक राजनीति, सहमतिको राजनीतिमा अगाडि बढ्नका लागि म हार्दिक आव्ह्वान गर्न चाहान्छु । ध्वंस र निषेधको राजनीतिलाई हामीले परित्याग गर्नैपर्छ । हामीले जहिले पनि सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ । जहिले पनि सिर्जनाको कुरा गर्नुपर्छ । निर्माणका कुराहरुलाई प्रोत्साहन गर्नुपर्छ । यसो गरियो भने मात्रै हाम्रो उपदेयता रहन्छ । राजनीतिक दलहरुको कुनै अर्थ हुन्छ । जनताले पार्टीहरुलाई सकारात्मक रुपमा हेर्न सक्छन् । त्यसैले अब समय आइसकेको छ । जतिबेला पनि खुट्टा तान्ने काम नगरौं, बिरोध मात्रै गर्ने बानी परित्याग गरौं, अब हातेमालो गर्दै अघि बढौं, यो देश धेरै पछाडि परिसकेको छ । यो देशका जनता धेरै गरिव छन् । पछौटे अबस्थाबाट ग्रस्त छन् । त्यसकारण सबै चीजलाई अन्त्य गर्न हामीले सिर्जना गर्नैपर्छ । रचना गर्नैपर्छ । सहमतिको बाटो हिँड्नै पर्छ । यसरी अगाडि बढेर मात्रै देशको कल्याण हुन्छ । मलाई खुसी लागेको छ । नेपालका इन्जिनीयरहरु, हाम्रै मन्त्रालयहरुबाट पुल निर्माण सम्भव भएको छ । झण्डै २० करोडको लागतमा निर्माण भएको छ । लागत कति पुग्यो, यसको मूलयांकन त होला । तर जे भए पनि एउटा वलियो संरचना निर्माण भएको छ । नौ गाविसमा बस्ने जनता पार गर्ने नदीमा पुल निर्माण भएको छ । पुल निर्माणको संरचनाले हामीले अत्यन्तै गौरवान्वित बनाएको छ । पुल पक्कै पनि वलियो बनेको छ भन्ने मैले ठानेको छु । ठेकेदार कम्पनीहरु पक्कै पनि विश्वसनीय होलान् । इन्जिनीयरहरु पक्कै विश्वसनीय होलान्, निर्माणकेा क्रममा उनीहरुले कुनै सम्झौता गरेका छैनन् होला भन्ने मैले ठानेको छु । मेरो यो ठम्याई भोलि गलत सावित नहोस् । कुनै पनि नदीमा आउने ठूलाठूला बाढीलाई पनि थेग्न सक्ने क्षमता यस पुलमा हुनुपर्छ भन्ने मैले ठानेको छु ।
समयभित्रै काम सम्पन्न गर्ने अभ्यासको विकास हुनसक्छ कि सक्दैन ?, अहिलेसम्म चार पटकसम्म म्याद थपिएको रहेछ । यसरी म्याद थप्नु हुँदैन । म्याद थप्नुभन्दा पहिला नै काम सम्पन्न गर्ने बानी हामीले बसाल्नुपर्छ । मैले हिजो मात्रै चीन सरकारको सहयोगमा ३५ करोडको लागतमा निर्माण भएको भवनको उद्घाटन गरेँ । त्यस भवनको निर्माण उनीहरुले अत्यन्तै छोटो समयमा सम्पन्न गरे । दुई वर्षभन्दा पनि कम समयमा ३५ करोडको लागतमा चिनीयाँ सरकारले सहयोग गर्दा काम सम्पन्न हुनसक्छ भने २० करोडको लागतमा निर्माण गर्ने काम किन सम्पन्न गर्न सकिदैंन ? काम ढिलो हुने कारण के हो भने ढिलो हुँदा पनि भेरियसन अर्डर हुन्छ, हामी उनीहरुलाई थप क्षतिपूर्ति दिन्छौं । अब हामीले यो बानीमा सुधार गर्नुपर्छ । ढिलो गरेपछि दण्डित गर्ने, छिटो गरेपछि पुरष्कृत गर्ने, एकदुई महिना पूर्व नै काम सम्पन्न गरेमा, गुणस्तरीय काम सम्पन्न गरेमा पुरष्कृत गर्ने बानी बसाल्नु पर्छ । त्यसकारण निर्माणको क्षेत्रमा हामीले नमूनालायक काम गरेर देखाउन जरुरी छ ।
यस क्षेत्रका जनताका समस्याहरुका बारेमा पनि मैले थुप्रै जानकारी प्राप्त गरेको छु । पहिला पनि तपाईंहरुले विद्युतीकरण, सिचाईं, शिक्षाको चर्चा गर्नुभएको थियो । त्यसैगरी अन्य थुप्रै समस्याहरु पनि अवगत गराउनुभएको थियो । वास्तवमा बाटोको समस्या पनि देखिन्छ । भर्खरै उपप्रधानमन्त्रीजीले चर्चा गरिसक्नुभएको छ, कसरी यस क्षेत्रमा अब हुलाकी राजमार्ग निर्माण हुन गईरहेको छ । ४९ किमी लामो बर्दियाको सिमानासम्म बाटो निर्माण हुँदैछ । प्रथम चरणमा निर्माण हुन गईरहेको बाटोको टेण्डर खुल्दैछ । त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ । वास्तबमा यही क्षेत्रको सन्दर्भमा पनि मैले जानकारी प्राप्त गरेको छु । नौ वटा गाविसका निम्ति सामूदायिक विद्युतिकरणको योजना अन्तर्गत ३६ करोडको लागतमा अब कार्यक्रम अगाडि बढ्दैछ । तपाईंहरुको शैक्षिक मागप्रति पनि हामी त्यतिकै ध्यान दिनेछौं । नदी नियन्त्रणको सन्दर्भमा राप्ती नदीमा बाँध निर्माण गरी नदी कटानको समस्या समाधान गर्न पनि सोच अगाडि बढिरहेको छ । त्यसैगरी सिचाईंले बाँकेको ४६ गाविसमध्ये ३४ गाविसमा नहरको बिस्तार हुन गईरहेको छ । सबै नहर २०७० सालसम्ममा सञ्चालनमा ल्याउने हाम्रो योजना रहेको छ । यस क्ष्ाेत्रमा नेपाल टेलिभिजनको टावर राख्नुपर्ने माग पनि राख्नुभएको छ । यस बारेमा पनि सरकारको ध्यान गएको छ । यो माग समाध्ाान गर्ने विषयमा पनि हामीले गम्भीरतापूर्वक सोचिरहेका छौं । नेपालगञ्ज नगरपालिकामा पनि निक्कै राम्रो रकम आइरहेको छ । यसबाट यस क्षेत्रको विकासमा निक्कै राम्रो भूमिका खेल्नेछ भन्ने हामीले सोचेका छौं । बाँके जिल्लाभित्रै खजुरामा क्यान्सर अस्पताल निर्माण गर्ने विषयमा पनि हामीले चर्चा गरिरहेका छौं । त्यसैगरी यस ठाउँमै महिला सेवा केन्द्र निर्माण गर्न गइरहेका छौं । यसरी यस जिल्लाको विकासका निम्ती सरकारले समूचित ध्यान दिइरहेको छ ।
तपाईंहरु वास्तबमा विकासको मामिलामा धेरै पछाडि पर्नुभएको छ । त्यसकारण मलाई साथीहरुले पटकपटक यहाँका जनताका माग सुन्नका लागि समय उपलब्ध गराउनुपर्‍यो भन्नुभएको थियो ।
अहिले सबै पार्टीका बीचमा सहमतिको आवश्यकता छ । विकासका सवालमा हामीले कहिल्यै पनि बाधा खडा गर्नुहुँदैन । विकास निर्माणको कार्यमा हामी सबै हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । बाटो निर्माणसँगै बसाईसराईको प्रक्रिया पनि अगाडि बढ्नेछ । यससँगै जनतालाई धेरै सुविधाहरु पनि उपलब्ध हुनेछ । विद्युतीकरणका सन्दर्भमा मैले चर्चा गरिसकें । स्वास्थ्यका विषयमा पनि तपाईंहरुले कुरा उठाउनुभएको छ । आवश्यक मात्रामा कर्मचारीहरु नभएको कुरा गर्नुभएको छ, यसमा पनि सरकारले ध्यान दिनेछ ।
सिंगो मुलुकको विषयमा चर्चा गर्ने हो भने पनि यो मुलुकमा विकास निर्माणको लहर पैदा गर्न पनि हामी जुटिरहेका छौं । अहिले मुलुकमा हामी संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने काम समयमै सम्पन्न गर्न जुटिरहेका छौं । यसका साथै सुशासन प्रदान गर्ने र विकास निर्माणको कामलाई अगाडि बढाउन पनि त्यतिकै ध्यान दिन चाहिरहेका छौं । भ्रष्ट्रचार नियन्त्रण गरी महंगीको मारमा परेका जनतालाई राहत उपलब्ध गराउने, समस्याले पिरोलिएका जनतालाई समस्याबाट मुक्ति दिलाउने सन्दर्भमा पनि सरकार गम्भीरतापूर्वक लागिरहेको छ । हाम्रा युवाहरुले रोजगारी पाउन सकुन्, हाम्रा बालबालिकाहरुले अध्ययन गर्न पाउन् । हाम्रा प्रत्येक आमाहरुले आफ्ना घर परिवार राम्ररी सञ्चालन गर्न पाउन् भन्ने सन्दर्भमा यो सरकारले बिभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । हामीले देशमा ठूलाठूला परियोजनाहरु पनि सञ्चालन गर्न चाहिरहेका छौं । माथिल्लो कणर्ाली परियोजना निर्माण गर्ने हाम्रो प्रयास, पश्चिम सेती आयोजना निर्माण गर्ने हाम्रो प्रयासमा अहिले अबरोध खडा गर्ने प्रयास भइरहेको पनि हामीले सुनिरहेका छौं । यस्ता अबरोधहरु कसैले पनि र्सिजना गर्नुहुँदैन । बिजुली उत्पादन गर्ने परियोजनामा कहीं कसैले अबरोध खडा गर्नुहुँदैन । नेपाली या विदेशी उद्यमी किन नहुन्, उनीहरुले उत्पादन गर्छन् भने आखिर लाभ नेपाली जनताले नै पाउने हो । त्यसकारण निर्माणका कामहरुलाई सहज रुपमा अगाडि बढाउने काममा सबैले सहयोगी भूमिका खेल्नुपर्ने आवश्यकता छ । हाम्रा प्रत्येक गाउँहरुमा बिजुली बल्न सकोस्, हाम्रा प्रत्येक बालबालीकाहरु विद्यालयमा अध्ययन गर्न जान सकुन्, पढाईको गुणस्तर राम्रो हुन सकोस्, प्रत्येक गाउँमा स्वास्थ्यको राम्रो व्यबस्था हुन सकोस्, यी सबै सोचलाई साकार पार्नका लागी पनि सबै जनताको सहयोग चाहिन्छ । त्यसकारण यी सबै लिएर अगाडि बढ्नुको विकल्प छैन ।
वास्तबमा हाम्रो देश धेरै पछाडि परेको छ । सँधैभरीको बन्द र हड्तालले जनताको जीवनलाई कष्टकर बनाएको छ । बिभिन्न स्थानहरुमा शान्ति सुरक्षाको गम्भीर प्रश्न खडा भएको छ । नेपाल सरकार शान्ति सुरक्ष्ाा प्रदान गर्नका लागि दृढताका साथ अगाडि बढ्न तत्पर र प्रतिबद्ध छ । कुनै पनि अपराधीलाई छुट दिने पक्षमा छैनौं । नियन्त्रणका लागि हामीले हाम्रो सुरक्ष्ाा संयन्त्रलाई तयारी हालतमा राख्नेगरी योजना बनाएर अगाडि बढ्न हामीले निर्देशन दिएका छौं । अहिले अपराधीको मनोवल बढ्न लागेको देखिएको छ । अपहरणका घटनाहरु बढेका छन् । बिभिन्न ठाउँमा चन्दा उठाउने, जनतालाई धम्क्याउने कामहरु हुन थालेका छन् । यी सबै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न हामी दृढ छौं । हिजो हामी सरकारमा आउने बित्तिक्कै जसरी शान्ति सुरक्ष्ााको स्थितिमा सुधार भएको थियो त्यसैगरी आगामी दिनमा पनि जनतालाई शान्ति सुरक्ष्ााको प्रत्याभूति दिलाई छाड्नेछौं । त्यसकारण सरकारको यो प्रयासमा तपाईंहरुको पनि साथ चाहिन्छ । अपराधीहरु उम्किने, उनीहरुलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने काम कतैबाट भइरहेको छ भने जानकारी हामीलाई दिनुहोस् । अपराधीहरु जुनसुकै नकाव लगाएका किन नहोऊन्, कसैले पनि संरक्षण दिनुहुँदैन । जनतालाई मर्कामा पार्ने, सबै ठाउँमा समस्या खडा गर्ने, विध्वंश मच्चाउने तत्वहरुलाई समाजले दुत्र्कानुपर्छ । नियन्त्रण गर्ने र कारबाही गर्ने काममा सहयोग पुर्‍याउनुपर्छ । त्यसकारण सम्पूर्ण जनसमुदायलाई के विश्वास दिलाउन चाहान्छु भने यो सरकार इमान्दारिताका साथ, निष्ठाका साथ जनताको हितमा लागेको छ । त्यसैले यो सरकारबाट जनताले बढी अपेक्षा गर्नु स्वाभाविक पनि छ । जुन सरकारले केही गर्न सक्छ, त्यही सरकारसँग जनताले माग पनि गर्छन् । जुन् सरकारले जनतालाई पीडा मात्रै दिन्छ, त्यो सरकारसँग जनताले केही अपेक्षा पनि गर्दैन । हामी जनतालाई आहात होइन, राहात दिन चाहान्छौं । त्यसकारण हामीले धेरै काम अगाडि बढाएका छौं । धेरै काम सुरु गरेका छौं । गाउँगाउँमा विकास अभियानको सिर्जना गर्न खोजिरहेका छौं । जिल्लाजिल्लामा योजनाहरु अगाडि बढाउन चाहिरहेका छौं । यी सबै काममा जनताको पनि सक्रिय सहभागिता आवश्यक छ । तपाईंहरुले पनि चासो राख्नुपर्छ । योजनाका पैसाहरु खर्च भइरहेका छन् कि छैनन्, सदुपयोग या दुरुपयोग भइरहेको छ ? यी सबै कुरामा तपाईंहरुले उचित ध्यान दिनुपर्छ । त्यसकारण तपाईं र हामीबीच राम्ररी सम्वाद हुनसक्यो, आपसमा मिलेर अगाडि बढ्यौं भने विकासका लागि छुट्याइएको बजेट जनताको हितमा खर्च हुन सक्नेछ । त्यसकारण सरकार जनताको हितमा लाग्दै जनताप्रति समर्पित हुन खोजिरहेको छ ।
अन्त्यमा, राप्ती पुल निर्माण सम्पन्न भएको छ, संरक्षण गर्ने जिम्मेवारी तपाईंहरुकै हो । तपाईंहरुले पुल संरक्षण गर्न त्यतिकै भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्दै पुल निर्माणमा जुट्नुहुने प्राविधिक र श्रमजीवी मजदुरहरुप्रति, सहयोग गर्नुहुने जनतालाई समेत हार्दिक धन्यवाद दिँदै आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद !
-बाँकेको कम्दी गाविसमा निर्माण भएको राप्ती पुलको उद्घाटन कार्यक्रममा २०६६, माघ २७ गते व्यक्त गर्नुभएको मन्तव्य) ।

No comments:

Post a Comment

Text Widget

Text Widget